काठमाडौं । नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । उनले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाएका थिए । आफ्नो नियुक्तिलाई लिएर विवादमा परेपछि हमालले राजीनामा दिएका हुन् ।
उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको छ । सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई मन्त्रीमा नियुक्त गरेका थिए। तर, ४८ घन्टा बित्न नपाउँदै उनले पदबाट राजीनामा दिएका छन् । नेपालको इतिहासमा ४८ घन्टाभित्रै मन्त्री पदबाट राजीनामा दिने सम्भवतः उनी पहिले मन्त्री हुन् ।
मन्त्री हमालले आफ्नै स्वविवेकले राजीनामा दिएको बताएका छन् । नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आए पनि व्यक्तिगत विवादमा पर्नुभन्दा राजीनामा दिनु उपयुक्त लागेको उनले बताएका छन् ।
हमालले विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि आफूले पदबाट राजीनामा गरेको बताएका छन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि काँग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु, हाल विभिन्न संचारमाध्यायमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’ हमालको राजीनामा पत्रमा भनिएको छ ।
हमाल लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि अहिले धार्मिक गतिविधिमा लागेका छन् ।








































