काठमाडौँ, आइतबार, ३ भाद्र २०७८ । नेपाल उद्योग वाणिज्य महासंघले परियोजना धितो राखेर कर्जा पाउनुपर्ने माग गरेको छ । महासंघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई परियोजना धितो कर्जालाई प्राथमिकतामा राखेर तयार पारेको सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाउँदै धितो कर्जाको माग गरेको हो ।
महासंघले यसअघि परियोजनामा आधारित कर्जा प्रवाह गर्नुपर्ने धारणा राख्दै आएको थियो । प्रतिवेदनमा कोभिड–१९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसँगै साना मझौला उद्यम र स्टार्टअपको विस्तारका लागि सो अवधारणा प्रभावकारी ठहर गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर अधिकारीलाई बुझाउँदै साना तथा मझौला उद्यम परियोजना धितोका आधारमा कर्जा लगानी गर्न आग्रह गरे । अध्ययन प्रतिवेदनमार्फत स्टार्टअपलाई पूँजी उपलब्ध गराउन कूल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनुपर्ने तथा परियोजनाको मूल्याङ्कनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुझाव दिइएको छ ।
त्यस्तै निश्चित सीमासम्मको कर्जाको प्रत्याभूति संयन्त्र र बीमा विस्तार गर्दै जोखिम न्यूनीकरण संयन्त्र लागू गर्न बैंकको क्षमता विकास गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।
गर्भनर अधिकारीले महासंघले पेश गरेको प्रतिवेदन अनुसार साना तथा मझौला उद्यम एवं स्टार्टअप उद्यम परियोजना धितो कर्जा प्रतिवेदन अध्ययन गरी प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । उनले सुझावसहित अध्ययन प्रतिवेदन तयार पारी उपलब्ध गराएकोमा महासंघलाई धन्यवाद दिए ।
सम्भाव्यता अध्ययन अन्तर्राष्ट्रिय श्रम सङ्गठन, नेपाल कार्यालय र युके एडको सहयोगमा गरिएको महासंघले जनाएको छ ।









































