काठमाडौँ, २९ भाद्र २०७८ । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरुद्ध पारेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक निरन्तर अवरूद्ध गर्दै आएको छ ।
यसै सम्बन्धमा सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । तर, बैठक नै बहिस्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सर्तसमेत राखेको छ ।








































