जुम्ला, सोमबार, २१ भाद्र २०७८ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापति पदमा नेता, कार्यकर्ताको दौड बढेको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दीपबहादुर शाहीसहित पाँच जना आकाङ्क्षी देखिएका छन् । पार्टी सचिव कर्णबहादुर शाही, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, महाधिवेशन प्रतिनिधि लंकबहादुर शाही र नेता खड्क सेजुवालको नाम पनि सभापति पदको चर्चा आएको छ ।
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालको हल्ला भए पनि आफ्नो उम्मेदवारीको विषयमा यकिन नभइसकेकाे उहाँले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि पाँच जनाकाे नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि अहिले कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ तीव्र चलिरहेको छ ।
वर्तमान सभापति दीपबहादुर शाही रामचन्द्र पौडेल पक्षतर्फका हुनुहुन्छ ।
यस्तै सभापतिमा देउवा पक्षका भने धेरैको देखिएका छन् । सचिव कर्णबहादुर शाहीका अनुसार देउवा पक्षबाट आफूसहित लंकबहादुर शाही, भक्तबहादुर रोकाया, खड्क सेजुवालसहितका नेताहरूको नाम आएको छ । जिल्ला सभापतिको आकाङ्क्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिन थालेका छन् ।
तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यवाहक जिल्ला सभापतिका रूपमा भूमिका निभाउँदै आउनुभएकाे थियाे । उहाँकाे दुई कार्यकाल बितिसकेकाले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने पनि कार्यकर्ताको माग छ ।
जुम्लामा कांग्रेसभित्र दुई गुट छ । देउवा र पाैडेल गुटले आफ्नाे पक्षमा धेरै जना भएकाे दाबी गर्दै आएका छन् ।
सभापति शाहीले जुम्लाका आठ पालिकामध्ये चार वटा पालिकामा जित हासिल गर्नु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो ।
‘म पार्टी सभापति भएपछि थुप्रै ठाउँमा सरकारमा रहेका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता आफ्नाे पार्टीमा प्रवेश गराउन सफल भएका छौँ । पालिकामा पनि जित्यौँ । अहिले कांग्रेसको पक्षमा जिल्लाभर माहोल छ । यो माहोल बिग्रिन नदिनका लागि एक पटक फेरि मेरो नेतृत्वमा कांग्रेस अघि बढ्नुपर्छ भन्ने लाग्छ ।’
सभापतिका आकाङ्क्षी लंकबहादुर शाही आफूले जीवन कांग्रेसमा दिएकाले एक पटक पार्टीले अवसर दिनुपर्ने बताउनुहुन्छ । शाही साविक बड्की गाविस अध्यक्ष हुँदै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।








































