काठमाडौं, बुधबार, ९ भाद्र २०७८ । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ ।
मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय ललितपुरमा बसेको स्थायी कमिटी बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा माधव नेपाल छाडेका स्थायी कमिटी सदस्यहरु पनि उपस्थित थिए ।
साथै, बैठकले भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सारेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । अब विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुनेछ । बैठकले २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन पनि निर्देशन दिएको छ ।
यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको छ ।
एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन आग्रहसमेत गरेको छ ।








































