गोरखा, आइतबार, ६ भाद्र २०७८ । शहिद लखन गाउँपालिका लेखापरीक्षण भएका देशभरका ६९९ वटा स्थानीय तह मध्य सबैभन्दा कम बेरुजु आउनेमा रकम र प्रतिशतको हिसाबमा चौथो नम्बरमा परेको छ भने गण्डकी प्रदेशमा कम बेरुजु आउनेमा पहिलो नम्बरमा परेको छ । गोरखाका ११ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु रकम २३ करोड ५३ लाख देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका ११ वटा स्थानीय तहले २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ अनुशासन विपरीत खर्च गरेको उल्लेख छ । जिल्लाका ११ स्थानीय तहको १० अर्ब ७५ करोड ३३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.१८ प्रतिशत बेरुजु देखिएको हो।
महालेखाको प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढि चुमनुब्री गाउँपालिकाको ७.५८ प्रतिशत बेरुजु देखिएको छ। गाउँपालिकाको ४७ करोड ३८ लाख ३७ हजारको लेखापरीक्षण हुदाँ ३ करोड ५८ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको छ।
यस्तै जिल्लामा सबैभन्दा कम बेरुजु शहिद लखन गाउँपालिकाको देखिएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार ८७ करोड २१ लाख ६ हजारको लेखापरीक्षण हुदाँ जम्मा ०.१० प्रतिशत अर्थात ८ लाख ६८ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो । शहिद लखन गाउँपालिका लेखापरीक्षण भएका देशभरका ६९९ वटा स्थानीय तह मध्य सबैभन्दा कम बेरुजु आउनेमा रकम र प्रतिशतको हिसाबमा चौथो नम्बरमा परेको छ भने गण्डकी प्रदेशमा कम बेरुजु आउनेमा पहिलो नम्बरमा परेको छ ।
त्यसैगरी, जिल्लाको पालुङटार नगरपालिकामा १ अर्ब ५९ करोड ८६ लाख ३६ हजारको लेखापरीक्षण हुदाँ १.२६ प्रतिशत अर्थात २ करोड ९६ हजार बेरुजु देखिएको छ भने गोरखा नगरपालिकामा १ अर्ब ७८ करोड ७५ लाख ३४ हजारको लेखापरीक्षण हुदाँ २.२२ प्रतिशत अर्थात ३ करोड ९६ लाख ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
प्रतिवेदनमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा १ अर्ब ७ करोड ४९ लाख ७२ हजारको लेखापरीक्षण गर्दा ४.६६ प्रतिशत अर्थात ५ करोड १ लाख १ हजार, अजिरकोट गाउँपालिकामा ७५ लाख ३३ हजार ७१ हजारको लेखापरीक्षण गर्दा ०.७६ प्रतिशत अर्थात ५६ लाख ९३ हजार र सिरान्चोक गाउँपालिकामा ७९ करोड ४३ लाख ४१ हजारको लेखापरीक्षण गर्दा २.१२ प्रतिशत अर्थात १ करोड ६८ लाख ५१ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ ।
साथै, आरुघाट गाउँपालिकामा ९७ करोड ८३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा ०.५७ अर्थात ५६ लाख ६ हजार, धार्चे गाउँपालिकामा ६३ करोड १४ लाख २७ हजारको लेखापरीक्षण गर्दा ३.८४ अर्थात २ करोड ४२ लाख २३ हजार, गण्डकी गाउँपालिकामा १ अर्ब ५३ लाख ३५ हजार लेखापरीक्षण गर्दा ०.९१ अर्थात ९१ लाख १९ हजार र भिमसेन थापा गाउँपालिकामा ७८ करोड ३४ लाख ४१ हजारको लेखापरीक्षण गर्दा ३.८४ अर्थात २ करोड ७२ लाख ६४ हजार बेरुजु देखिएको छ ।








































