काठमाडौँ, ३२ साउन २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
सोमबार विहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको जानकारी दिएका हुन् ।
उनले भनेका छन् – ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो िसजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’
आइतबार मात्रै विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणामा लिएपछि सर्वसाधारण आतंकित भएका छन् । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरिसकेकाे छ ।








































