काठमाडौं, बुधबार, २७ साउन २०७८ । पछिल्लो दुई हप्ता यता उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितका बिरामीहरु बढेका छन् । विभिन्न अस्पतालले जनाए अनुसार पछिल्लो दुई हप्तामा कोरोना संक्रमितका लागि छुट्याईएका साधारण बेडहरु भरिन लागेका छन् भने आईसीयू बेडहरु भरिइसकेका छन् ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि पछिल्लो दुई साता यता कोरोना संक्रमितका विरामीहरु बढ्दै गएका छन् । टेकु अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार पछिल्लो दुई हप्तायता कोरोना संक्रमितका विरामीहरु अस्पताल भर्ना हुन आउने क्रम बढेको हो । उहाँका अनुसार अस्पतालमा कोभिडका बिरामीका लागि छुट्याईएका ४० बेडहरुमध्ये २५ वटा बेडहरु भरिइसकेका भने आईसीयुका लागि छुट्याईएको २४ बेडहरु सबै भरिइसकेका छन् । पछिल्लो समय उपत्यका बाहिरबाट आउने कोभिडका विरामीको संख्यामा पनि भईरहेको उहाँले बताउनुभयो ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा.सन्तकुमार दासका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा भर्ना हुने कोरोनाका संक्रमितको सँख्यामा वृद्धि भएको हो । अस्पातालमा कोरोनाका लागि छुट्याईएको ४० बेडको आईसीयूमा सबै भरिइसकेको दासले बताउनुभयो । जसमध्ये १७ जना भेन्टिलेटरमा रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अहिले कोरोनाको विरामीको लागि ११५ वटा साधारण बेडहरु छुट्याईएको छ जसमध्ये अहिले ८५ जना भर्ना भरिइसकेका छन् ।
यस्तै ह्याम्स अस्पतालमा पनि पछिल्ला दिनहरुमा अस्पतालमा भर्ना हुन आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हँुदै गएको छ ।
अस्पतालका मिडिया कोअर्डिनेटर साजन राज भण्डारीका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा आउने कोरोनाका संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको हो । ह्याम्स अस्पतालमा कोभिडका लागि छुट्याईएका १३ वटा आईसीयू बेडहरु सबै भरिइसकेका छन् जसमध्ये पाँच जना भेन्टिलेटरमा छन् भने ४९ वटा साधारण बेडहरुमध्ये ४२ वटा बेडहरु भरिइसकेका छन् ।
नर्भिक अस्पतालमा पछिल्लो दुई हप्तामा कोरोनाका बिरामीका लागि छुट्याईएका बेडहरु भरिएका छन् । अस्पतालका मिडिया कोअर्डिनेटर सोमनाथ बास्तोलाका अनुसार अस्पतालमा कोभिडका लागि छुट्याईएका ३६ वटा बेडहरु सबै भरिइसकेका छन् । ३६ वटा बेडहरुमध्ये १७ वटा साधारण बेड र अरु आईसीयू बेड रहेका छन् । तिमध्ये सबै बेडहरु भरीसकेकाले बाहिरबाट आउने नयाँ सङ्क्रमितहरुलाई बेड अभावका कारण अन्य अस्पतालहरुमा पठाउनुपरेको बास्तोलाको भनाई छ ।








































