काठमाडौँ, बुधबार, ६ साउन २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई तत्कालिन सरकारले गरेको सहमति कार्यान्वयन गर्ने बताएका छन् ।
विप्लवले बुधबार अपराह्न बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । सो क्रममा विप्लवले केपी ओली सरकारसँग नेकपाले गत फागुन २१ गते तीन बुँदे सहमति गरेको भन्दै उक्त सहमति कार्यान्वयन गर्न माग गरेका थिए। सहमति अनुसार जेलमा रहेका नेकपाका नेताहरुको रिहाइ गर्नुपर्ने तथा झुठा मुद्दाहरु खारेज गर्नुपर्ने उनको माग छ ।
त्यसको जवाफमा प्रधानमन्त्री देउवाले विप्लवसहित नेकपाका नेताहरूसँग तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामीले सहमति कार्यान्वयन गर्नुपर्यो भन्ने कुरा राख्यौँ । जवाफमा प्रधानमन्त्रीजीले छलफल गरेर गरिन्छ भन्नु भयो ।’ देउवालाई उद्यृत गर्दै नेता धमेन्द्र बास्तोलाले जानकारी दिए । भेटमा विप्लवले जनमत संग्रह गर्न माग पनि गरेका थिए ।
यसअघि चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए । साथै उनले हालै माओवादी छाडेर एमालेमा लागेका रामबहादुर बादल, मणि थापा, टोपबहादुर रायमाझिलगायतलाई पनि भेटेका थिए ।








































