तनहुँ, असार १ गते । तनहुँमा रगत अभाव भएपछि यहाँ उपचाररत मृगौलाका विरामीलाई समस्या परेको छ । रगत नहुँदा जिल्ला बाहिर रगत खोज्नु पर्ने अवस्था आएको छ । दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सञ्चालित शत्रुध्न मञ्जु डायलासिस केन्द्रमा उपचारत विरामी समस्यामा परेका हुन् ।
कोरोनाको महामारी र निषेधाज्ञाले जिल्लामा रक्तदानका कार्यक्रम न्यून हुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला रोगीको लागि जिल्ला बाहिर खोज्नु पर्ने बाध्यता रहेको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो ।
“कोरोनाको सङ्क्रमण अघि रक्तदानका कार्यक्रम धेरै हुने भएकाले विरामीलाई समस्या थिएन, पीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ’’ पण्डितले भन्नुभयो । विरामीले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेको उहाँले जानकारी दिनुभयो । भानु नगरपालिका–४ चुँदीका मुरली रानाभाटले रगत अभाव भएकाले खोज्दै धाउनु पर्दा समस्या परेको बताउनुभयो । पहिला रगतको समस्या थिएन, निषेधाज्ञा भएपछि पाउन मुस्किल छ’’ रानाभाटले भन्नुभयो । गोरखापत्र








































