काठमाडौँ, १८ असार २०७८ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज दाहालले जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङलगायत २६ वटा जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेको जानकारी दिँदै खोज तथा उद्धार र राहत कार्य निरन्तर जारी राखेको बताए ।
हालसम्म मुलुकभर २७ को मृत्यु, २६ बेपत्ता, १९ जना घा´इते भएका छन् । हेलिकप्टरबाट २६८ जना र सुरक्षाकर्मीले चार सय जनाको उ´द्धार गरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरोपीडित एक हजार छ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।








































