काठमाडौँ, बिहिबार, १७ असार २०७८ । नागरिक उड्डयन प्राधिकरणले आज बिहानबाट आन्तरिक उडान शुरू भएको जनाएको छ । प्राधिकरणका अनुसार, आजबाट देशका विभिन्न शहरमा दैनिक ६४ उडान हुनेछन्।
प्राधिकरणले बिहान ६ देखि बेलुकी ६ बजेसम्मको उडान तालिका सार्वजनिक गरेको छ। तत्कालका लागि दैनिक ६४ उडान तय भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनु भयो ।
अहिले बुद्ध एयरले ३१, यती एयरले १५, श्री एयरले सात, सौर्य एयरले तीन, नेपाल एयरले दुई, तारा एयरले दुई, समिट एयरले दुई र सीता एयरले दुई उडान गर्नेछन् ।
अहिले सबै एयरलाइन्सले ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न लागेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । आन्तरिक उडानमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ ।








































