काठमाडौं, बिहिबार, १७ असार २०७८ । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।
विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीस्थित मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी बर्षा मापन भएको जानकारी दिएको छ ।
मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तनहुँको बिमलनगर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । चुदी खोला लगायत सो क्षेत्रमा स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यसैगरी बाराको कलैया वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।
पसाह, फेटा लगायत नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।








































