काठमाडौँ, बुधबार, १६ असार २०७८ । जननायक वीपी कोइराला मेमोरियल ट्रस्टले ‘वीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ ।
भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, विपी पुत्र डाक्टर सशाङ्क कोइराला र काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिकाले मात्रै दुई करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि वाग्मती प्रदेश सरकारले ५० लाख र ट्रस्ट आफैँको एक करोड रुपैयाँ लगानी रहने छ ।
थप रकम दाताबाट जुटाउने ट्रस्टले जानकारी दिएको छ । भवन निर्माणको लागत चार करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
काठमाण्डाै महानगरपालिका वडा नम्बर ५ को हाँडीगाउँमा निर्माण हुने भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिकासँगै प्रदेश सरकार लगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।








































