गोरखा, सोमबार, १४ असार २०७८ । धार्मिक, ऐतिहासिक रुपमा परिचित पालुङटारको लिगलिगकोटमा पर्यटकीय पूर्वाधार निर्माणको काम धमाधम भईरहेको छ ।
पालुङटार नगरपालिका २ मा पर्ने लिगलिगकोट केही वर्ष अघि र अहिले फरक छ । कारण त्यहाँ धेरै पर्यटकिय पूर्वाधार निर्माणले गती लिएको छ ।
पालुङटार नगरपालिका, पूर्वाधार बिकास कार्यालय गोरखा, डिभिजन बन कार्यालयको लगानीमा अहिले पनि कोटमा पुरातत्विक रुपमा पर्यटन पूर्वाधार बनिरहेको छ । लिगलिगकोट सम्म जान आउन छुट्टाछुट्टै सिँढी बाटो निर्माण गरिएको छ ।
स्थानीयको श्रमदान २० प्रतिशत सहित २४ लाख लागतमा लिगलिगकोट डाँडामा पूर्वाधार निर्माण भईरहेको छ । एक सातामा सबै काम सक्ने योजना रहेको उपभोक्ता समितिका सचिव बालकृष्ण अच्छामीले बताए ।
बन डिभिजन कार्यालय गोरखाको सहयोगमा झण्डा राखिएको ठाउँमा ढुङ्गा बिछ्याउने काम भईरहेको छ । गत बैशाख २५ गतेबाट लिगलिगकोट पार्क निर्माण उपभोक्ता समिति गठन गरेर स्थानीयले दर्फेदेवी मन्दिर पनि निर्माण गरेका छन् । ‘पुरातत्विक क्षेत्र भएका ढुङ्गा मात्रै प्रयोग भएको छ’ उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रानाले भने । बन डिभिजनबाट भएको काम अन्तिम चरणमा पुगेको उनले बताए ।








































