काठमाडौं, ७ असार २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम तथा र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन् ।
उनले स्वास्थ्यमन्त्री शेर बहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शितल निवासमा आइतबार बोलाएर अहिले कोभिड–१९ संक्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनका लागि भइरहेको तयारीबारे जानकारी लिएको मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ सम्बन्धी भएका कामलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताइन् ।








































