काठमाडौं, आइतबार, जेठ २५ गतेबाट शुरु हुने पहिलो चरणको को’भिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ ।
यस अभियानअन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल (चिनियाँ खोप) को पहिलो मात्रा दिन लगाइन लागेको हो ।
शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले खोप सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले यसका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभएको हो ।
महानगरपालिकाले खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको र नामहरूखकरिब करिब आइसकेको बताउनुभएको छ ।
यो पटक ६० वर्ष उमेर समूहका नागरिकलाई एक दिन मात्र खोप लगाइनेछ भने ६१ वर्ष उमेर समूहका नागरिकलाई एक दिन गरेर पाँच दिनसम्म खोप लगाइने विभागीय प्रमुख कुँबरले बताउनुभयो । उहाँका अनुसार जेठ २५ गते ६० वर्षका नागरिकलाई खोप दिइनेछ भने ६१ वर्षका लागि २६ गते दिइनेछ । त्यस्तै ६२ वर्षका लाई २७ गते, ६३ वर्षका लाई २८ गते र ६४ वर्षका लाई २९ गते गरेर पालैपालो खोप लगाइनेछ । कुन उमेर समूहलाई कुन दिन खोप लगाइने त्यसबारे सूचना सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।
उक्त उमेर समूहका नागरिकलाई चीन सरकारले उपलब्ध गराएको भेरोसेल (चाइनिज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब १ लाख व्यक्ति लाभान्वित भएका थिए ।








































