काठमाडौं, जेठ २१। राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील हुन आह्वान गर्नुभएको छ ।
छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत सबैमा सद्भावको विकास गर्न तथा सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न दिवसले अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विना भेदभाव सम्मानित जीवनयापन गर्ने वातावरण तयार गर्न आवश्यक सबै कानुनहरु निर्माण गरिसकेको बताउनुभएको छ ।








































