काठमाडौं, आइतबार, १६ जेठ २०७८ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
बजेटको कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
आज अइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने उनले बताए ।
उनले भने, ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौं ।’








































