काठमाडौँ, आइतबार, १६ जेठ २०७८ । प्रधानमन्त्री नियुक्ति तथा प्रतिनिधि सभा वि’घटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रि’टमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबारबाट सुरु भएको सुनुवाइ समयाभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएपछि आइतबार पनि हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा बहस भैरहेको छ । शुक्रबारको बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले सवैधानिक इजलास गठनमाथि प्रश्न उठाएपछि स्थगित गरिएको थियो।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले यही जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोकेसँगै सर्वोच्चमा पक्ष र विपक्षमा ३० वटा रिट परेका छन् । जसमा निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका छन् ।








































