काठमाडौँ, बुधबार, १२ जेठ २०७८ । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नुपरेको छ ।
सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिब १५ मिटरको एप्रोज सडककको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका (तारुका) का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् ।
सो पुल धादिङको गल्छि गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अबरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो । ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेंसी सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मिटर छ ।
निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत गरेका छन् ।








































