काठमाडौं, ११ बैशाख २०७८ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीमध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआईपीएले १ लाख रुपैयाँ उपलब्ध गराएको हो ।
फाउन्डेसनले रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केही समयअघि रंगशालामा राखिने कुर्सीमध्ये १ कुर्सीका लागि सहयोगकर्ताको नाम राख्ने गरी सो अभियान चलाएको थियो । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइ दिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई १ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरे ।
एनएनआईपीएले गत फागुन ८ गते आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट सो सहयोग फाउन्डेसनलाई उपलब्ध गराएको हो । एनएनआईपीएले यअसघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट बचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो । अध्यक्ष श्रेष्ठले कुर्सी खरिद गर्नेभन्दा पनि भावनात्मक रूपमा अभियानसँग जोडिन सहयोग गरेको बताउँदै सम्पूर्ण खेल संघका साथै सबैलाई गच्छेअनुसार अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरे । एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टले सीमित स्रोत र साधनका बाबजुद खेलाडी संघले फाउन्डेनको पुण्य कार्यमा सहयोग गरेकामा खुसी व्यक्त गरे ।
अध्यक्ष कट्टेलले खेलाडीको वृत्ति विकास र सरकारलाई सहयोग गर्न रंगशाला निर्माणको कार्य थालनी गरेको बताउँदै क्रिकेट रंगशाला भए पनि रंगशाला हातामा विभिन्न मुख्य २२ खेल विधाका संरचना पनि निर्माण गर्ने योजना रहेको बताए । उनले सबैको साथ र सहयोगले मात्र निर्माण कार्यले पूर्णता पाउने बताउँदै हरेक खेलाडीले मेरा, हाम्रो रंगशाला हो भन्ने महसुस गरी सम्पूर्ण खेलाडीलाई यो अभियानमा जोडिन अनुरोध गरे । उनले हरेस नखाइ र निराश नभई विषम परिस्थतिमा पनि निर्माण कार्यलाई अगाडि बढाएको बताउँदै सहयोगका लागि एनएनआईपीएलाई धन्यवाद दिए । राजधानीबाट ।








































