काठमाडौँ, २३ चैत्र २०७७ । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एएफसी इन्टरनेशनल ‘प्लेयर अफ द विक’ घोषित भएका छन्।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको मार्च अन्तिम साताका १० खेलाडीको सूचीमा परेका किरण भोटका आधारमा साताको उत्कृष्ट खेलाडी चयन भएका हुन् । किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाएका छन् ।
दोस्रो स्थानमा परेका साउदी अरेबियाका सालेह अल सेहरीले २०.७२ प्रतिशत भोट प्राप्त गरे भने तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए। एएफसीले आह्वान गरेको भोटिङ अप्रिल ४ सम्मका तोकिएको थियो ।
किरण उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी हुन्। पछिल्लो साता किरणकै कप्तानीमा नेपालले घरेलु मैदानमा आयाजना भएको थ्री नेसन्स कपको उपाधि जितेको थियो। केहीदिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गोलकिपरसमेत चुनिएका थिए। उनी पञ्जाव एफसीमा आबद्ध छन् ।









































