काठमाडौं, मंगलबार, १७ चैत्र २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ ।
स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताउनुभयो ।
जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउनेछन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तिहरुले खोप लगाउने उहाँले बताउनुभयो ।
चीन सरकारले सोमबार ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । यसअघि २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी जम्मा हालसम्म नेपालले ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।
दोस्रो चरणको महामारी जोखिम
छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना महामारीको जोखिम बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने देखिएको छ । तर डराइहाल्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । पहिलो चरणको कोरोना महामारीमा भारतमा सङ्क्रमण दर बढेको एक दुई हप्तापछि नेपालमा पनि संक्रमण दर बढ्न सक्ने भन्दै तयारीमा जुट्न स्वास्थ्यकर्मीहरुको भनाइ छ । दैनिक २ देखि ३ हजारको संख्यामा भारतीय नागरिकहरु नेपाल फर्कदा भारतबाट कोरोना संक्रमण पनि नेपाल भित्रिने जोखिम बढ्दै गएको छ ।








































