काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा अन्तिम आठमा स्थान पक्का गर्ने क्रममा चेल्सीले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेगमा चेल्सीले १–० को जित निकालेको छ ।
चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक–एक गोल गरे । खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
एट्लेटिको खेलको ८२ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका स्टेफान साभिकले रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । खेलको इन्ज्युरी समयमा इमर्सनले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । चेल्सी सात सिजनपछि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलो पटक अन्तिम आठमा प्रवेश गरेको हो । चेल्सी प्रिमियर लिगमा पछिल्लो समय राम्रो अवस्थामा छ ।









































