काठमाडौं, सोमबार, २४ फागुन २०७७ । दिपेन्द्र सिंह ऐरीले आफ्नो क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका छन् ।
जारी काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबबाट ब्याटिङ गरेका दीपेन्द्रले अर्को विभागीय टोली एपीएफ क्लबविरुद्ध शतक प्रहार गरेका हुन् ।
टियु क्रिकेट मैदानमा भैरहेको खेलमा पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको छ ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले १ सय ४० रनको शतकीय इनिङ्स खेले । दिपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै, पवन सर्राफले ३५ रन जोड्दा सुनिल धमलाले ३३ रन बनाए । अनिल साहले १८ र कुशल भुर्तेलले १० रन जोडे ।
एपीएफक शरद भेषवाकरले ३ विकेट लिए । अविनास बोहरा र अमर रौटेलाले १/१ विकेट लिए ।









































