एजेन्सी, शनिबार, १५ फागुन २०७७ । साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या राजकुमार मोहम्मद बिन सलमानको स्वीकृतिबाट भएको खुलासा भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले जारी गरेको एक रिपोर्ट अनुसार पत्रकार खसोग्गीको हत्याको दोष साउदी अरबका राजकुमार सलमानलाई लगाइएको हो ।
पत्रकार खसोग्गीको सन २०१८ अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी बाणिज्य दुतावास भित्र हत्या गरिएको थियो ।
बाइडन प्रशासनले जारी गरेको रिपोर्ट अनुसार साउदी अरबका युवराज सलमानले पत्रकार खसोग्गीको हत्याका लागि स्विकृति दिएका थिए । यही कारण अमेरिकामा बसोबास गरिरहेका पत्रकार जमाल खसोग्गीको हत्या भएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा बताइए अनुसार राजकुमार मोहम्मद बिन सलमानले आफ्ना कटु आलोचक पत्रकार जमाल खसोग्गीलाई जिउँदै पक्राउ गर्ने या हत्या गर्ने योजनामा सहमति जनाएका थिए । यद्यपी साउदी अरबले यो रिपोर्टलाई आधारहिन भन्दै खारेज गरिदिएको छ ।
यसअघि पत्रकार खसोग्गीको हत्या अभियोगमा साउदी अरबले ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर पछि सजाय घटाएर २० बर्षको कैदमा परिणत गराइएको थियो ।
सिएनएनले जनाए अनुसार बाइडन प्रशासन मातहतको हाउस अफ ईन्टिलिजेन्स कमिटीका प्रमुख एडम शेफले राष्ट्रपति बाइडनले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई सोझै कारवाही गर्नु पर्ने सिफारिस गरेका छन ।
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले यो रिपोर्ट सार्वजनिक गरे पनि साउदी अरबसंगको ब्यवहार र सम्बन्ध के कस्तो हुने भन्ने बारेमा स्पष्ट र औपचारिक रुपमा केही नखुलाइएको बिबिसीले जनाएको छ ।








































