काठमाडौँ, मंगलबार, ४ फागुन २०७७ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा आजबाट एमिकस क्युरीले राय दिँदैछ ।
एमिकस क्युरीका तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान रक्षाका लागि अदालतको सहारा खोजिएको बताएका छन् । संविधानको रक्षा गर्नुपर्ने राजनीतिक दलहरू नै आन्दोलनमा लागिरहेकाले संविधान रक्षा हुन नसकेको तर्क राख्दै अधिवक्ता कार्कीले अहिले अदालतको सहारा खोजिएको बताएका हुन् । यसमा अल्मलिनुपर्ने कारण नभएको उनको भनाई थियो ।
एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीका साथै विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।








































