काठमाडौं, आइतबार, ११ माघ २०७७ । नेपालमा कोरोनाभाइरसविरुद्धको खोप माघ १४ गतेदेखि लगाइने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ १४ माघ बिहान १० बजे गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग समन्वय गरेर माघ १८ गतेभित्रै फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।
भारत सरकारले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको छ । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो ।








































