काठमाडौं, सोमबार, २७ पुस २०७७ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देशलाई कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त रहेको बताएका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै देश कसरी जोगाउन सकिएला भन्ने विषयमा आफू चिन्तित रहेको प्रष्ट पारेका हुन् ।
शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ,यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’
परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाहिरी इच्छा पूरा अवान्छित क्रियाकलाप यहाँ भित्रिएको ज्ञानेन्द्रको भनाई छ ।









































