काठमाडौं, २१ पुस २०७७ । काठमाडौं उपत्यकामा दुई दिनदेखि मौसममा आएको परिवर्तनसँगै वायु प्रदूषणको स्तर अत्याधिक बढेको पाइएको छ । विगत दुईदेखि उपत्यकामा घाम लागेको छैन ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको समेत जनाएको छ ।
वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुको समस्या भएकाहरु बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ ।
उपत्यकामा बढ्दो शहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुँवा, विकास निर्माणको क्रममा उड्ने धुलो र आगलागीले प्रदूषण बढाएको छ ।








































