काठमाडाैँ, आइतबार, २८ मङ्सिर २०७७ । भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ ।
आइतबार बस्न्यातलाई विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ। सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको। यस्तै नेपाल सरकारलाई हानी पुर्याउने बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको सहित तीन वटा अभियोग लगाएको छ।
बस्न्यातले विशेष अदालतकाे यो आदेशमा चित्त नबुझे सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन् ।








































