काठमाडौँ, बुधबार, २४ मङ्सिर २०७७ । सानिमा बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा पुस ५ गते र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ ।









































