काठमाडौँ, मङ्सिर ४ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ ।
एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि अधिवेशनको तयारी थालिएको हो ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले यस अघिभन्दा थप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न विकल्पसाथ अधिवेशनको तयारी थालिएको जानकारी दिनुभयो । उहाँले यसअघि कोरोनामा केन्द्रित भएर हामीले अधिवेशनको बैठक चलाएका थियौँ, अहिले हामीबीच सङ्क्रमित हुन सक्छन् भन्नेसमेत सोचेर बैठकको तयारी गर्नुपर्नेछ । संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भने गरिरहेका छौँ भन्नुभयो । अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि हुनेछ ।
यसअघि कोरोना कहरबीच डाकिएको बजेट अधिवेशनमा सांसदबीच भौतिक दूरी कायम गरिएको थियो । प्रवेश गेटमा ज्वरो नाप्ने लगायतका सुरक्षात्मक उपाय अवलम्बन गरिएको थियो । साथै बैठक कक्षमा एक र अर्को सांसद बीचका दुई कुर्सी खाली राखिएका थिए । दुवै सदनको संयुक्त बैठकमा भने दर्शकदीर्घा रहने स्थानमा पनि सांसदलाई राखिएको थियो । एक बैठकको हकमा बैठक कक्ष मात्र प्रयोग भएको थियो ।








































