काठमाडौँ, बुधबार, ३ मङ्सिर २०७७ । निजी प्रयोगशालाको कोरो’ना रिपो’र्टको छानविन हुने भएको छ ।
विदेशमा हुने उडानमा यात्रा गर्ने यात्रुहरूको पीसीआर रिपोर्ट नेपालमा नेगेटिभ आउने र विदेश पुग्नाबित्तिकै परीक्षण गर्दा भने पोजिटिभ आएको विषयमा आवश्यक छानविन गरी कारवाही हुने भएको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार निजी प्रयोगशालाबाट कोरोना परीक्षण गराएर विदेशिएका यात्रुको नेपालबाट नेगेटिभ आउने र विदेश पुग्नेबित्तिकै हुने परीक्षणमा पोजिटिभ रिपोर्ट आउन थालेपछि यसको आवश्यक छानविन गर्न लागिएको हो ।
नेपाल वायुसेवा निगम (नेवानी) बाट विदेशिएका यात्रुमा यो समस्या बढेपछि हङकङले तेस्रो पटक उडानमा प्रतिवन्ध लगाएको छ। जापानको नारिता र संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा पनि यस्तै समस्या देखिएकोले आवश्यक छानविन गर्न पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष औपचारिक रूपमै आग्रह गरिसकेको मन्त्रालयका प्रवक्ता भट्टराईले बताए ।
निजी प्रयोगशालाले स्वाव संकलन नै नगरी नक्कली रिपोर्ट दिने, स्वाव संकलन पश्चात पनि रिपोर्ट हेरफेर गरी पोजिटिभ बनाउने, स्वाव कलेक्सनपछि निर्धारित समय भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको र कोभिड १९ आरटी पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउनुपर्ने सहितका विषयमा छानविन गर्न पर्यटन मन्त्रालयले आग्रह गरेको हो ।








































