वासिङटन, सोमबार, १७ कात्तिक २०७७ । विश्वको सर्वाधिक पहिलो अर्थतन्त्र र शक्तिशाली देश अमेरिकामा मङ्गलबार हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा विश्वका आँखा गाडिएको छ । निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको जोड घटाउ पनि सुरु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प वा जोय वाइडेन कसले जित हात पार्लान् भनेर राजनीतिक पण्डितदेखि विश्वसमाज अहिले विश्लेषणमै व्यस्त छन् ।
निर्वाचनको तीन दिन अघिसम्म पनि ट्रम्प वा वाइडेन कसले राष्ट्रपतिको बाजी मार्ला भनेर ठ्याक्कै आकलन गरेर भन्न सक्ने स्थिति नभएको कतिपयको मत छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति वाइडेन चुनावी सभा वा ¥यालीलाई सम्बोधन गर्न अमेरिकी राजनीतिलाई प्रायःजसो काबुमा राख्दै आएका छन् ।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन तथा वाइडेनको डेमोक्रेट पार्टीमध्ये कुनै पनि पक्षमा असंलग्न रहेका मध्यपश्चिमी राज्यहरू नर्थ क्यारोलिना, मिचिगन, पेन्सिलभेनिया, मिनिसोटा, विस्कन्सिन, फ्लोरिडा, एरिजोना, जर्जिया, टेक्सस र नेभाडा लगायतका राज्यमा आफ्नो शक्ति र स्रोत लगाएर जनमत आफूतिर आकर्षित गर्न तँछाडमछाड गरेर दुवै उम्मेदवार लागिरहनुभएको छ । सम्भवतः पेन्सिलभेनिया तथा मिचिगनले अमेरिकी राजनीतिको पटाक्षेप गर्न सक्ने अनुमान स्वतन्त्र पर्यवेक्षक तथा विश्लेषकहरूले गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेको देखाएका छन् ।
अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ ।
पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेको देखाइएका छन् ।
एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिन अघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता बनाए पनि चुनावी परिणामका बारेमा यसै भन्न नसकिने अवस्था रहेको बताएका छन् ।
चुनाव अघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत विन्दुले मात्र अग्रता बनाइराखेको देखाएका थिए । चुनावी नतिजालाई फेरबदल गर्न सक्ने मुख्य राज्यहरुमा एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यू ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन रहेका छन् ।
गत अक्टोबर २९ देखि ३१ तारिखसम्मको मतसर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् ।
चुनावी नतिजा उलटफेर गर्न सक्ने “ब्याटलग्राउन्ड” नाम दिइएका केही राज्यहरुमा मतदातालाई आफूतिर तान्न राष्ट्रपतिका दुबै आकाँक्षीले अन्तिम चुनावी सभाहरु गरिरहेका छन् ।
अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो ।








































