काठमाडौँ, आइतबार, १६ कात्तिक २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन सभाहलको निरीक्षण गर्नु भएको छ । प्रधानमन्त्री ओली हलको निर्माणबारे प्रगति बुझ्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुग्नु भएको थियो । निर्माणाधीन सभाहलको अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपुर्ण कार्यक्रम यही हलमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिनु भयो ।
आगामी माघमा सम्पन्न हुने गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उहाँले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिनुभयो ।
करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो हल केसी–समानान्तर जेभिले रु ५८ करोड २४ लाखमा ठेक्का पाएको हो । विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति र्भसकेको जानकारी गराएका थिए । वि सं २०७६ असोज २० गतेबाट निर्माण शुरु भएको उक्त हल यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ ।








































