सुदूरपश्चिम, आइतबार, १६ कात्तिक २०७७ । विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ ।
विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या देखिएको हो । सरकारले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा सिकाइका पाँचवटा वैकल्पिक विधि तोकिएको छ । वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्ने विद्यार्थीको पढाइ सञ्चालन हुन नसकेपछि सम्बन्धित अभिभावक चिन्तित देखिएका छन् ।
अधिकांश विद्यालयले अनलाइन कक्षामार्फत शिक्षण सिकाइ गरिरहेकामा कतिपय विद्यालयले सामुदायिक शिक्षण सिकाइ (टोल शिक्षा) मार्फत पठनपाठन गरिरहेका छन् । केही विद्यालयले सीमित सङ्ख्यामा विद्यार्थीलाई विद्यालयमा बोलाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शिक्षण सिकाइ गरिरहेका छन् ।
धनगढीको एक बोर्डिङ स्कूलमा आफ्ना छोराछोरीलाई अध्ययन गराउँदै आएका स्थानीय योगेन्द्र चन्दले विद्यालयले शुरु गरेको अनलाइन कक्षाका लागि आफ्नो त्यति पहुँच नभएको र वातावरण पनि नमिलेकाले छोराछोरीको पढाइ रोकिएको बताए ।
विद्यालय गएर पढ्ने वातावरण बनेपछि मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने योजना उनले बनाएका छन् । उनले भने, “पढ्नेका लागि सबै विद्यालयको शिक्षण सिकाइ एकैखालका हुन्, बोर्डिङमा नै छोराछोरीलाई पढाउनुपर्छ भन्ने केही छैन ।”
धनगढी उपमहानगरपालिका कार्यालय शिक्षा शाखाका अधिकृत महादेव जोशीले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम वैकल्पिक विधिको प्रयोग गरी विद्यालयमा पठनपाठन भइरहेको भए पनि सबै विद्यार्थी यो विधिमा नसमेटिएको बताए । झण्डै ६० प्रतिशत छात्रछात्रा मात्र वैकल्पिक विधिमा सहभागी भइरहेको अनुमान गरिएको भन्दै जोशीले भने, “वैकल्पिक विधिमा सहभागी हुन नसकेका छात्रछात्राको पढाइ भने सञ्चालन हुनसकेको छैन ।”
वैकल्पिक विधिमार्फत पठनपाठन भइरहँदा सिकाइ त्यति प्रभावकारी नभइरहेको गुनासो पनि कतिपय अभिभावकले गर्न थालेका छन् । यद्यपि लामो समयदेखि विद्यालय जान नपाएका छात्रछात्रा भने आ–आफ्नै घरबाट वैकल्पिक विधि अपनाएर पढ्न पाउँदा भने खुशी देखिएका छन् । कोरोनाको जोखिमका कारण उनीहरुमा मनोवैज्ञानिक त्रास पनि उत्तिकै छ ।








































