एजेन्सी, शनिबार, १५ कात्तिक २०७७ । पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् । बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए ।
न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि रहेका छन् ।
बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए। पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको संख्या तीन लाख ३२ हजार १ सय ८६ रहेको छ ।








































