काठमाडौं, शुक्रबार, ३० असोज २०७७ । गृह मन्त्रालयले दसैंका बेला मन्दिर तथा शक्तिपिठहरु नियमित पूजा गर्नबाहेक भक्तजनका लागि खुला नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपिठहरुमा भिड हुँदा कोभिड-१९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताए । तर, नित्य पूजाआजा भने नियमित रुपमा सुरु गर्न सकिने उनले बताए ।
मन्दिरमा भिड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।
दसैंका बेला विभिन्न शक्तिपिठमा विशेष पूजा गरिन्छ भने धेरै संख्यामा भक्तालु पुग्ने गर्छन् । त्यसैले, मन्दिरहरुमा हुनसक्ने भिडलाई ध्यान दिँदै सरकारले नियमित पूजाबाहेक सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।








































