काठमाडौँ, मंगलबार, १३ असोज २०७७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई पक्राउ गरी मतियारको रुपमा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सोमबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधि मण्डल र बझाङ जिल्लाका जनप्रतिनिधि मण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताएका हुन् । बलत्कार जस्तो लज्जाको विषयलाई रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको उनको भनाई छ ।
ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले महिला हिंसा र बलत्कारका घटनामा संलग्नलाई कारबाही, पीडीतलाई उपचार, सुरक्षा र क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेकी छन् ।








































