काठमाडौँ, आइतबार, ११ असोज २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको रिपोर्ट सम्बन्धित व्यक्तिलाई जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब दिनेको पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिँधै जानकारी गराउन ल्याबहरुलाई निर्देशन दिएका हुन् । यसअघि रिपोर्ट आएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था थियो ।
हाल होम आइसोलेशनमा पनि कोरोना संक्रमित भएकोले यसअघिको निर्णय परिवर्तन गरिएको प्रवक्ता डा. गौतमले जानकारी गराए । आजसम्म नेपालमा होम आइसोलेशनमा रहनेको संख्या १० हजार ६९८ छ ।
यस्तै, मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णयलाई बैज्ञानिक आधारले पुष्टि नगर्ने भन्दै कार्यान्वयन नगर्न आग्रह गरेको छ ।








































