काठमाडौँ, मंगलबार, ३० भाद्र २०७७ । नेपाल विधुत प्राधिकरणले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ ।
आज मंगलबार प्राधिकरणमा आयोजित कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई सीमित कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका थिए । २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।
कार्यकालमा निकै प्रशंसा कमाएका घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर, सरकारले पुनर्नियुक्ति विषयमा कुनै निर्णय गरेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घिसिङलाई नै लैजानुपर्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने दोहोर्याउने मनस्थितिमा नभएको स्रोतको भनाई छ ।








































