काठमाडौँ, शनिबार, २७ भाद्र २०७७ । काठमाडौँ महानगरपालिका (कामनपा)ले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने क्रममा फुटपाथ पसल र ठेला व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय सच्याउन आग्रह गरेको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गत २४ गते बुधबार बुँदा नम्बर १० मा फुटपाथ पसल र ठेला व्यापार व्यवसाय सञ्चालनका लागि बिहान ११ बजे र अपराह्न ४ देखि ७ बजे सम्मको समयावधि तोकेको छ ।
कामनपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई शुक्रबार बबरमहलस्थित प्रशासन कार्यालयमा भेट गरी निर्णय सच्याउन ध्यानाकर्षण पत्र प्रदान गर्नुभएको छ ।
महानगरको सौन्दर्य, फुटपाथमा हुने आवत–जावतमा सहजीकरण, फोहोर तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा फुटपाथ पसल र ठेला व्यापार यसअघि नीति तथा कार्यक्रममै समावेश गरेर बन्द गरिएको स्मरण गराउँदै उहाँले निर्णय सच्याउन आग्रह गर्नुुभएको थियो ।
यति बेला फुटपाथ तथा ठेलामा व्यापार गर्न दिने हो भने कोरोना सङ्क्रमणको महामारी भयावह हुने उहाँको तर्क छ । “स्वास्थ्य सुरक्षा मापदण्ड पुग्दैन, सङ्क्रमितको ट्र्याकिङ गर्न पनि सम्भव छैन”, उहाँले स्पष्ट पार्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले पनि यो निर्णय सच्याउने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरी निर्णय सच्याइने तयारी भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।








































