काठमाडौँ, आइतबार, २१ भाद्र २०७७ । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानिने भएपछि आज सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुका अनुसार आइतबार रथ तानिने भएपछि ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । त्यस क्षेत्रमा बाक्लो रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।
रातो मछिन्द्रनाथको रथ १६४ जनाले तानिरहेका छन् । यसअघि बिहीबार रथ तान्ने क्रममा विवाद भएको थियो ।
ललितपुरस्थित पुल्चोकमा हुने कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार १६४ जनाले रथ तान्नेछन् । पुजारी, बाजा बजाउने समूह,स्वयंसेवकलगायत गरेर चार सयको हाराहारीमा मात्रै रथयात्रामा सहभागी छन् ।
सुरक्षा व्यवस्था कडा पारिएको छ भने आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।
नेवार समुदायका विभिन्न संघसंस्थाले परिचालन गर्ने सिमित स्वयम्सेवकले रथ तान्नेछन्। पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारेर त्यहीँ रथको पूजा गरिने छ । रथ यात्रामा सर्वसाधारणलगायत पत्रकारलाई पनि सहभागी हुन दिइएको छैन ।
यसअघि गत बिहीबार स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो । त्यस क्रममा प्रहरी र केही स्थानीय घाइते भएका थिए ।








































