Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:५० बिहान
- ADVERTISEMENT -

बन्दाबन्दी र निषेधाज्ञाको प्रभाव , मनोसामाजिक रूपमा कमजोर बन्दै

प्रकाशित मिति: २०७७ भदौ २०, शनिबार

739
Shares

हेटौँडा, शनिबार, २० भाद्र २०७७ । विश्वव्यापी महामारीका रूपमा लिइएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दो छ । कोरोनाको बढ्दो सङ्क्रमण रोक्न भन्दै आर्थिक एवं मानवीय गतिविधि ठप्प गरिँदा मनोवैज्ञानिक, आर्थिक र सामाजिक क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने निश्चित प्रायः रहेको समाजशास्त्रका अध्ययताहरूको भनाइ छ ।

पछिल्लो समयमा कोरोना भाइरसका नाममा त्रास सिर्जना गरिएको र गरिखाने वर्गको जीवन सकसपूर्ण भएको भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर काम गर्न दिनुपर्नेमा समाजशास्त्र अध्ययनकर्ताको जोड रहेको छ । उनीहरूका अनुसार निरन्तरको बन्दाबन्दी र निषेधाज्ञाका कारण मनोसामाजिक रूपमा समाजमा नकारात्मक प्रभावहरू देखापर्न थालेकाले राज्यले सहज वातावरण निर्माण गर्न ढिलाइ गर्नु हुँदैन ।

रोगले भन्दा पनि भोकले मर्ने चिन्ता
काभ्रे समाचारदाताका अनुसार, कोरोना नियन्त्रण गर्न गरिएको बन्दाबन्दी र निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर गुजारा चलाउनुपर्नेहरू समस्यामा पर्न थालेका छन् । करिब चार महिनाको बन्दाबन्दी र हालै गरिएको निषेधाज्ञाले उनीहरूलाई दीर्घकालीन र मध्यकालीन असर परेको मनोविज्ञहरूको भनाइ छ ।

बनेपा क्याम्पस प्रमुख एवं मनोविज्ञ पारस काफ्ले लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले दीर्घकालीन र मध्यकालीन असर देखिन सक्ने औँल्याउनुहुन्छ । यस्तै अवस्था अभैm लम्बिने हो भने रोगभन्दा पनि भोकले मानिस मर्न थाल्ने पो हुन् कि भन्ने चिन्ता थपिएको छ । उहाँले बन्दाबन्दी, निषेधाज्ञाभन्दा मानिसलाई सचेत गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

मानसिक समस्या बढ्न थाल्यो
धादिङ समाचारदाताका अनुसार, कोरोना सङ्क्रमणको सन्त्रास र लामो समयको बन्दाबन्दीले मानिसमा आर्थिक र मानसिक समस्याले पिरोल्न थालेको छ ।

लामो समयको बन्दाबन्दी र रोगको सन्त्रासले मानिसलाई दिन प्रतिदिन आर्थिक र मानसिक रूपले कमजोर बनाउँदै लगेको छ । नीलकण्ठ बहुमुखी क्याम्पसका मनोविज्ञानका उपप्राध्यापक युवराज सुवेदी रोगको कारण मरिहाल्ने हो कि भन्ने चिन्ताले मानिसलाई पिरोलेको बताउनुहुन्छ । सुवेदीका अनुसार मानिसमा रोजगारी गुमेर जीविकोपार्जनका लागि समस्या बन्दै गएको, कोरोनाको सङ्क्रमण र त्यसको प्रभावसम्बन्धी सञ्चार माध्यममा आउने सूचनाका कारण मानिसहरू हतोत्साही बन्दै गएका, पारिवारिक झगडा बढ्दै गएको र आत्महत्याका घटना बढ्न थालेको बताउनुहुन्छ ।
लामो समयको बन्दाबन्दीका कारण बालबालिकाको ध्यान परिवार र अध्ययनमा भन्दा सामाजिक सञ्जालका विकृत चित्र र भिडियोतर्फ मोडिन थालेको साङ्कोष माध्यामिक विद्यालयका सामाजिक शिक्षक नवराज सापकोटा बताउनुहुन्छ । सापकोटा भन्नुहुन्छ, आर्थिक रूपमा चरम अभाव हुन थालेको, स्वास्थ्य स्थिति कमजोर बन्दै गएको, डर, चिन्ता र पारिवारिक झैझगडा बढेको छ ।

सामाजिक विभेद बढ्दै
मकवानपुर समाचारदाताका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण गर्न अपनाइएका बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक–सामाजिक गतिविधि ठप्प हुँदा सामाजिक र आर्थिक विभेद बढ्दै गएको समाजशास्त्रका अध्ययताहरूको ठम्याइ रहेको छ । अर्कोतर्फ कोरोना सङ्क्रमितप्रति गरिने नराम्रो व्यवहारले सामाजिक विभेद सिर्जना गरेको उनीहरूको भनाइ छ । मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामेश्वर बराल कोरोनाबाट उत्पन्न हुने समस्याका बारेमा राज्यले वास्तविकता पहिचान गर्न नसक्दा अहिलेको समस्या आएको बताउनुहुन्छ ।

कोरोना सङ्क्रमण बढ्दा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र कम हुँदा हटाउनेमा सीमित भएको भन्दै समाजशास्त्र र मानवशास्त्र अध्यापनरत उहाँले भन्नुभयो, कोरोना अहिले आतङ्कजस्तै बनेको छ । पछिल्लो समय ३० प्रतिशत नागरिक आर्थिक रूपमा चल्दै नसक्ने अवस्थामा पुगेका छन् ।
उहाँले न्यून वर्गको आधारभूत आवश्यकता पूरा गर्नेतर्फ सरकारको ध्यान नगएको बताउनुभयो । जुनसुकै बिरामीले सहजै उपचार पाउनुपर्छ, आफ्नो काम गर्छु भन्नेलाई सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर काम गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने भन्दै उहाँले अर्थतन्त्र धान्ने क्षेत्रमा पछिल्लो समयमा नकारात्मक प्रभाव परेकोले यसले दीर्घकालीन असर पार्ने छ, भन्नुभयो ।

यस्तै समाजशास्त्र र मानवशास्त्रका उपप्राध्यापक द्रोण बुढाथोकी कोरोना सङ्क्रमण रोक्न आर्थिक र सामाजिक गतिविधि ठप्प बनाउँदा मनोवैज्ञानिक समस्या बढेको बताउनुहुन्छ । अर्थतन्त्र कमजोर हुँदा सामाजिक र मनोवैज्ञानिक रूपमा नकारात्मक असर पर्ने भन्दै उहाँले भन्नुभयो, नागरिकको पहिलेको सामाजिक हैसियत खस्केको छ, सामाजिक हैसियत कायम राख्न समस्या हुँदा नकारात्मक प्रभाव पर्छ ।
कोरोना सङ्क्रमसँगै बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प प्रायः भएकोले आर्थिक र सामाजिक विभेद बढ्ने देखिएकोले राज्यले समस्या समाधानका लागि विकल्पहरूको खोजी गर्नुपर्ने सुझाउनुभयो ।

सङ्कट व्यवस्थापन अनिश्चित
चौतारा समाचारदाताका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले जनजीविकामा ठूलो असर पर्ने विज्ञहरूको बुझाइ छ । बन्दाबन्दीले बेरोजगारी सिर्जना गर्ने, व्यवसायमा गिरावट ल्याउनेसँगै भौतिक र सामाजिक विकासमा समेत अवरोध सिर्जना भएको छ ।

समाजमा अत्यावश्यक सामग्रीको अभाव त छँदैछ, नागरिकको उपभोग गर्ने क्षमतामा समेत ह्रास आउने विज्ञहरू बताउँछन् । दीर्घकालमा बेरोजगारी र अराजकताको विकास भई सामाजिक हिंसा बढ्ने सम्भावना बढी छ, शिक्षाविद् डा. विनोद नेपाल भन्नुहुन्छ, बालबालिकामा मनोवैज्ञानिक त्रासको कारण सिर्जनशीलतामा कमी आइ सामाजिक विकासमा गम्भीर समस्या देखिन सक्छ । उत्पादन र विकास निर्माणका काममा अवरोध पुग्दा समाजलाई परनिर्भर बनाउने सङ्केत देखिएको नेपाल बताउनुहुन्छ ।

लामो समयको बन्दाबन्दीको शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिकसँगै रोजगारी र स्वास्थ्य क्षेत्रमा लामो समय असर रहिरहने चौतारा बहुमखी क्याम्पसका प्रमुख तथा मनोविद् नगेन्द्रप्रसाद दङ्गाल बताउनुहुन्छ । आर्थिक क्रियाकलाप बन्द हुँदा पारिवारिक र सामाजिक समस्या वृद्धि हुने र मानसिक विचलन हुने सम्भावन बढी हुने भन्दै आत्म व्यवस्थापन र सामाजिक व्यवस्थापन गर्दै सहज जनजीविका अबको आवश्यकता रहेको दङ्गालको भनाइ छ ।

अन्यसँगै सांस्कृतिक क्षेत्र प्रभावित
दोलखा समाचारदाताका अनुसार सङ्क्रमण रोक्न गरिएका बन्दाबन्दीलगायतका गतिविधिले स्वास्थ्यमा मात्र होइन सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, व्यावहारिक एवं सूचना तथा प्रविधिमा प्रभाव पार्ने देखिएको छ । कोभिड १९ पछिका गतिविधिको प्रभाव स्थानीय तहदेखि राष्ट्रिय रूपमा देखिन थालेको सामाजशास्त्रका अध्ययता एवं गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आत्मनिर्भरतर्फ उन्मुख हुनेक्रम पनि बढेको छ ।

यस्तै, प्राध्यापक दुर्गा दाहालका अनुसार कोरोना सङ्क्रमणले निम्त्याएको मनोवैज्ञानिक असरले सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा दूरगामी प्रभाव पर्नुका साथै सामाजिक सहिष्णुतामा गिरावट आउँछ । असहज जीवनशैलीले आत्महत्याजस्ता घटनामा वृद्धि पनि हुन्छ । बालबालिकामा नयाँ मानिससँग डराउने, एक्लोपनको विकास हुने र सिकाइमा अस्वाभाविक गिरावट आउने छ ।

कोभिड–१९ ले मनोरोगी बढायो
सिन्धुली समाचारदाताका अनुसार कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा गरिएको कडाइले सामाजिक तथा मनोवैज्ञानिक प्रभाव पारेको छ । सिन्धुली बहुमुखी क्याम्पसको समाजशास्त्रका विभागीय प्रमुख टीकाबहादुर थापा कोरोनाको बढ्दो सङ्क्रमणसँगै सामाजिक सहकार्य टुटेको बताउनुहुन्छ

उहाँले भन्नुभयो, पहिले जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने जुन सामाजिक एकता थियो, अहिले जिउँदाको जन्ती हुने अवस्था देखिँदैन । परिवारभित्रै त्रासमा बस्नुपरेको अवस्था छ । अहिले आफू कसरी बाँच्नेतिर मात्रै मानिसले सोच्न थालेको उहाँको भनाइ छ । बन्दाबन्दी र निषेधाज्ञाले हुनेखाने र निम्न आय भएका बीच ठूलो खाडल बढेर गएको उहाँको तर्क छ । त्यस्तै, सिन्धुली बहुमुखी क्याम्पसकै समाजशास्त्रका प्राध्यापक ईश्वर बस्नेत पनि सामाजिक व्यवहार र सद्भावमा परिवर्तन ल्याएको बताउनुहुन्छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -