काठमाडौं, शनिबार, २० भाद्र २०७७ । ललितपुरमा शुक्रबार राति १० बजेबाट कर्फ्यू हटाएर जिल्लाका केहि क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ ।
रथ तान्दा बिहीबार प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडपपछि ललितपुर नगरपालिकाभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्थानीय प्रशासन ऐन २०२८ अनुसार बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञालाई नै कडा बनाइएको बताउनु भयो ।
प्रशासनका अनुसार मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
यसैगरी रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै, मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ ।
निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने उहाँले जानकारी दिनुभयो । निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन भनिएको छ ।








































