काठमाडौं, आइतबार, ७ भाद्र २०७७ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि वयस्कहरुले जस्तै अनिवार्य रुपमा मास्क लगाउन भनेको छ । १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्यूएचओले यस्तो बताएको हो ।
जुन–जुन देशमा जे–जे नियम वयस्कहरुमा लागु भएको छ, त्यही नियम १२ वर्षदेखि माथिका बालबालिकाहरुलाई पनि लागु गर्न डब्ल्यूएचओले भनेको छ ।
यस्तै ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।
यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ । उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले बालबालिकाहरुले कोरोना भाइरस संक्रमण कति फैलाउँछन् भन्ने अझै स्पष्ट भइसकेको छैन तर उनीहरुबाट पनि कोरोना संक्रमण फैलिने जनाएको छ ।
साथै, संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ। तर, ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ ।








































