काठमाडौँ, शनिबार, ६ भाद्र २०७७ । विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ संक्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल धनी देखिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लंघन गरेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार १४५ मोटरसाइकल छन् । यसैगरी ३५७ चारपांग्रे गाडीले मात्रै आदेश उल्लंघन गरेको पाइएको छ । पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२ सवारी साधन आदेश नमानेर गुडेका थिए । दोस्रो दिन आदेश उल्लंघन गर्ने सवारी साधनको संख्या ह्वात्तै घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबार ६१० सवारी साधनले आदेश उल्लंघन गरेको पाइएको छ । त्यसमा ५३० मोटरसाइकल छन् । अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारबाहीको दायरामा लगिने उहाँले बताउनुभयो । त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ । स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद–३ मा आदेश उल्लंघन गर्ने व्यक्तिलाई ५०० रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने जनाएको छ ।
महाशाखाले आदेशको पालना गराउन काठमाडौँ उपत्यकाका १५२ स्थानमा जाँच गर्ने गरेको छ । यस्तै ४६ स्थानमा नेपाल प्रहरी र ट्राफिकको संयुक्त टोली रहेको र राति ३९ स्थानमा जाँच हुने गरेको छ ।








































