काठमाडौँ, आइतबार, ७ असार २०७७ । कोरोनाका कारण विदेशमा रोकिएका ११ सय ५० जना नेपाली नागरिक आइतबार एकै दिनमा स्वदेश फर्केका छन् ।
कोरोना कहरका कारण समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा आइतबार ११ सय ५० जना फर्किएको कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ । समितका अनुसार आइतबार नै थप ३०० जना स्वदेश फर्कने क्रममा छन् ।
आइबार दिउँसो स्वदेश फर्कनेमध्ये कतारबाट १४९ जना, साउदी अरबबाट २४७ जना , युएइबाट ३३८ जना, कुवेतबाट १६६ जना र बंगलादेशबाट २५० जना नेपाल फर्कनु भएको हो ।
यसरी नेपाल फर्कनेमा प्रदेश १ का २३० जना, प्रदेश २ का ८१ जना, वाग्मती प्रदेशका २६२ जना, गण्डकी प्रदेशका १२८ जना, प्रदेश ५ का १६७ जना, कर्णाली प्रदेशका १२ जना र सुदुरपश्चिम प्रदेशका २० जना रहेका छन् । यस तथ्याङ्कमा बंगलादेशबाट आएका नेपाली नागरिकको प्रदेशगत रुपमा बर्गीकरण गर्न बाँकी रहेको समितिले जनाएको छ ।
आइतबार नै मलेसियाबाट हिमालय एयरलायन्सबाट १५० जना र युएइबाट नेपाल एयरलायन्सबाट १५० जना गरि थप ३०० जना नेपाली नागरिक फर्कदैछन् । नेपाल फर्कनु भएको नेपाल नागरिकलाई उपत्यका स्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परिक्षण र थप विवरण संकलन गर्ने कार्य जारी रहेको जनाईएको छ ।








































